काठमाण्डौमा आयोजित विशेष समारोहमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित कुल दस वामपन्थी दलहरू औपचारिक रूपमा एकीकृत भएका छन्। एकीकरणपछि नवगठित पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ।
भृकुटीमण्डपमा सम्पन्न एकता घोषणामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनसहित विभिन्न घटकका शीर्ष नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
नवगठित पार्टीको मार्गदर्शन सिद्धान्त माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताका साथ वैज्ञानिक समाजवाद रहने जनाइएको छ। चुनाव चिह्नका रूपमा ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको छ।
समारोहमा बोल्दै एकता संयोजन समिति सदस्य प्रमेश हमालले सामाजिक न्याय, सुशासन र आर्थिक रूपान्तरणको लक्ष्य सहित समाजवादी क्रान्तिको दिशा स्पष्ट गर्न वाम आन्दोलनको एकीकरण अपरिहार्य रहेको बताए। उनका अनुसार राष्ट्रिय स्वाधीनताको रक्षा, पुँजीवादी जनवादी उपलब्धिको संरक्षण र समाजवादको आधार निर्माण पार्टीको तत्कालीन कार्यनीति हुनेछ।
नवगठित पार्टीले आगामी छ महीनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, केन्द्रीयदेखि तल्लो संरचना सबै तहमा संयोजक–सहसंयोजक प्रणाली लागू गर्ने र संगठनात्मक संरचना आपसी सहमतिको आधारमा विस्तार गर्ने निर्णय गरेको छ।


