
काठमाडौँ, असार २४ गते । भिजिट भिसा काण्डमा गम्भीर अनुसन्धानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु भएपछि दुवै दलका सांसदहरूले उठेर विरोध जनाए। रास्वपाकी सांसद सोबिता गौतमले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको मुद्दा उठाउँदै आएको तर सरकारले बेवास्ता गर्दै आएको आरोप लगाइन्। उनले भने, “गम्भीर प्रकृतिको यो विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरी, स्वार्थ मिल्ने पात्रलाई अगाडि सारेर सामान्य समिति बनाउनु दुःखद छ।”
यता, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले पनि सरकार जनताको आवाजमा संवेदनशील नभएको आरोप लगाए। उनले भने, “यो कुनै दलविरुद्धको राजनीतिक गतिविधि होइन, मानव बेचबिखनविरुद्धको लडाइँ हो। अपराधको आधारमा निष्पक्ष छानबिन होस् भन्ने हाम्रो माग हो।”
दुवै दलले संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म सदनमा निरन्तर विरोध जारी रहने जनाएका छन्।