
काठमाडौं । मधेश प्रदेशसभाको बैठक विपक्षी दलहरूको कडा अवरोधका कारण सोमबारसम्मका लागि स्थगित गरिएको छ। जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूले बजेटमा पुनरावलोकन आवश्यक भएको भन्दै सदन चल्न नदिएका हुन्।
बैठक सुरु भएलगत्तै उत्पन्न अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले पहिलोपटक बैठक आधा घण्टाका लागि स्थगन गरे। तर, सहमति नजुटेपछि बैठक नै पुनः सञ्चालन हुन सकेन। सभामुख मण्डलले अब बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
प्रदेश सरकारले १ असारमा सार्वजनिक गरेको बजेटप्रति सत्तापक्षमै असन्तुष्टि देखिएको छ भने विपक्षीहरू अझ कडा रूपमा प्रस्तुत भएका छन्। उनीहरूले बजेटमा बिचौलियाको प्रभाव, असमान वितरण, र ५ लाखसम्मका रकम विनियोजन जस्ता विषय उठाउँदै पूर्ण पुनर्लेखनको माग गरेका छन्।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले भने, “पहिले यही मुख्यमन्त्रीले बजेट ह्याक भएको भन्दै गुनासो गरेका थिए, अहिले भने उनीहरूको आफ्नै दलका नेतामा बिचौलिया हाबी भएको देखिएको छ। २० वर्षअघिसम्मको भुक्तानीका लागि समेत बजेट छुट्याइएको छ। यस्तो अवस्थामा बजेट पारित हुन दिँदैनौं।”
विपक्षीको चेतावनी अनुसार, पुनर्लेखन नहुँदासम्म प्रदेशसभा सञ्चालन नहुने स्पष्ट देखिएको छ।