
काठमाडौं । स्पेनबाट फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । मुख्य सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गरेका हुन् ।
ओलीले अन्य सत्तासाझेदार दलसँग पनि छलफलको तयारी थालेका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा पुनर्गठनको तयारी थालिएको हो । स्रोतका अनुसार केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने गरि दुबै दलले मन्त्री हेरफेर गर्न लागेका हुन् ।
कार्यक्षमता कमजोर र विवादमा आएका मन्त्रीलाई फिर्ता बोलाउने कांग्रेस स्रोतले जनाएको छ । दुबै दलमा मन्त्री बन्ने आकांक्षी धेरै भएकाले पालो पुर्याउन पनि मन्त्रीपरिषद् पुनर्गठन गर्न लागिएको हो ।
सभापति देउवा र प्रधानमन्त्री ओलीबीच छलफलपछि कांग्रेसले मन्त्रीको नाम टुंग्याउने प्रवक्ता प्रकाशशरण महतले बताए । कांग्रेसबाट प्रकाशमानसिंहको नेतृत्वमा १० जना मन्त्री छन् ।
एमालेका विष्णु पौडेलको नेतृत्वमा ८ जना मन्त्री छन् । अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव, नवलकिशोर साह सुडी र लोसपाबाट शरतसिंह भण्डारी मन्त्री भएका छन् ।
सरकारको एक वर्ष पूरा भएपछि जसपा र लोसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने समझदारी गरेका छन् । अहिले जसपाबाट प्रदीप यादव खानेपानी मन्त्रीको जिम्मेवारीमा छन् भने नवलकिशोर सुडी महिला तथा बालबालिकामन्त्रीको जिम्मेवारी छन् ।
जसपाले प्रदीप र नवलकिशोरलाई फिर्ता बोलाएर डा. वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउने तयारी गरेको छ । उता, लोसपाले भने भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने बुझिएको छ ।
कांग्रेस र एमालेले भने नया अनुहारलाई प्राथमिकता दिने तयारी गरेका छन् । एमालेबाट प्रधानमन्त्री ओलीको रक्षाकवजको रुपमा चिनिने थापालाई सहकारी मन्त्रालय दिने तयारी भएको बुझिएको छ ।