
काठमाडौँ । कुलिङ पिरियडसम्बन्धी चलखेलको आरोपमा नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ।
बुधबार बसेको समितिको बैठकमा एमाले सांसद पदम गिरीले विधेयक प्रक्रियामा देखिएको बेथिति नै संसद्को गरिमामाथिको गम्भीर प्रहार भएको बताए। उनले समितिबाट एकमतले पारित भएको निर्णयसँग भिन्न किसिमको प्रतिवेदन सचिवालयले अगाडि सारेको भन्दै आपत्ति जनाए।
गिरीले विशेषगरी निजामती कर्मचारीलाई सेवानिवृत्त अथवा अवकाश लिएपछि दुई वर्षको कुलिङ पिरियड लागू गर्ने विषय समितिले सर्वसम्मतिमा पारित गरेको स्मरण गराउँदै सो निर्णयलाई समितिका सभापति र सचिवले गलत रूपमा पेश गर्नु आपत्तिजनक रहेको बताए।
"बैठकमा एकमतले पारित गरिएको कुरा प्रतिवेदनमा फरक रूपमा देखिएको छ," उनले भने, "यो समितिको निर्णयको खिल्ली उडाएको, गम्भीर दुर्ब्यवस्था हो।"
उनका अनुसार यो व्यवहार नेपालको संसदीय इतिहासमै अत्यन्त लज्जास्पद र निन्दनीय हो। समितिमा निर्णय भइसकेपछि मन्त्रालयले जे पठायो त्यसैलाई पास गर्नु गैरजिम्मेवार भएको भन्दै गिरीले सभापति र सचिव दुबैले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग राखे।