Banner Nepal
निजामती सेवा विधेयकमा फेरबदलबारे छानबिन माग

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा दफा फेरबदल भएको आशंकामा छानबिनको माग गर्नुभएको छ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले, विधेयकको दफा ८२ (४) ले सेवानिवृत्त कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक निकायमा नियुक्त गर्न नपाउने स्पष्ट व्यवस्था भए पनि, पछिल्ला प्रक्रियामा दफा ८२(५)(क) थपिएको देखिएको बताए। यसले अघिल्लो प्रावधानलाई खण्डन गर्ने भएकाले सभामुख देवराज घिमिरेसमक्ष छानबिनको अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो।

खतिवडाले विधेयकमा 'कुलिङ पिरियड' सम्बन्धी शब्द फेरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, यो गल्ती जोबाट भए पनि कारबाही हुनुपर्ने र आफू दोषी भए कारबाही भोग्न तयार रहेको स्पष्ट पार्नुभयो।

विधेयकमा भएको सम्भावित फेरबदलका कारण आजको समिति बैठक पनि बस्न सकेन।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update