
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत अहिले कोशी प्रदेश स्तरीय कार्यकर्ता भेलामा व्यस्त छ ।
शुक्रबारदेखि मोरङको टंकिसिनुवारीमा सुरु भएको प्रशिक्षण कार्यक्रमलाई जनमतले अन्य दलका कार्यकर्तालाई पार्टीमा भित्र्याउने अभियानका रुपमा सदुपयोग गरेको छ ।
कार्यक्रममा मोरङको जहदा र टंकिसिनुवारी क्षेत्रका माओवादी र लोसपासँग आवद्ध सयौं नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई अध्यक्ष राउतले पार्टीमा भित्र्याएका हुन् । डा. राउतले उनीहरुलाई अबीर, माला र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए । पूर्व संविधानसभा सदस्य तथा माओवादी नेता बाबूलाल पासवान, लोसपाका जोगेन्द्र मुखियासहितका सयौं नेताहरुले जनमतको सदस्यता लिएका छन् ।
अध्यक्ष डा. राउतले जनमत पार्टीमा दिनप्रतिदिन जनताको आकर्षण बढिरहेको भन्दै पार्टी प्रवेश कार्यक्रमलाई वडा तहसम्मै विस्तार गरिने बताए । प्रशिक्षण तथा कार्यकर्ता भेलामा कोशी प्रदेश र स्थानीय तहका नेताहरूको उपस्थिति रहेको जनमतका केन्द्रीय नेता बुद्धिराज न्यौपानेले बताए ।