Banner Nepal
रास्वपाको विरोध कायम, वेल घेरेर संसद्मा मौन प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभामा निरन्तर वेल घेरेर विरोध जनाइरहेका छन्। कहिले मौन बस्दै, कहिले नाराबाजी गर्दै उनीहरू पालैपालो उठ्ने र बस्ने क्रम繼 गर्दै वेलभित्रै आफ्नो असन्तुष्टि देखाइरहेका छन्।

यसै क्रममा सांसद सुमना श्रेष्ठ वेलभित्र योग आसनमा जस्तै आँखाचिम्लिएर ध्यानमा बसेको मुद्रा अपनाउँदै विरोधको अनौठो शैलीमा प्रस्तुत भएकी छन्।

रास्वपाले भिजिट भिसा प्रकरणमा गम्भीर छानबिनको माग गर्दै संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने अडान राखेको छ। साथै, उनीहरूले गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग पनि दोहोर्याइरहेका छन्।

यही मागसहित जेठ १३ गतेदेखि विभिन्न विपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए। यद्यपि, जेठ ३० गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तापक्षसँग दुई बुँदे सहमति गर्दै सदनको काममा फर्किएका छन्। तर, रास्वपा भने अझै आन्दोलनमा अडिग छ।

संसद्मा रास्वपाको निरन्तर विरोधको बीचमा पनि प्रतिनिधिसभा सञ्चालन भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि बैठक बहिष्कार गर्दै आएको छ। कतिपय सांसदहरूले प्रतिपक्षको विरोधबीच संसद् सञ्चालन हुनु उपयुक्त नहुने भन्दै आपत्ति जनाएका छन्।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यस्तो अभ्यासले संसद्को गलत परम्परा बस्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले वेलभित्रको नाराबाजीकै बीच सदन चलाउनु संसदीय अभ्यास र नियमावलीविपरीत रहेको तर्क गरे।

‘प्रतिपक्ष आन्दोलनरत रहँदा पनि संसद् चलाइँदै छ, यसले कस्तो उदाहरण बसाउँछ?’ भन्दै सांसद ज्वालाले रोष्ट्रमबाट असन्तुष्टि पोखेका थिए।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update