
काठमाडौं । मधेश प्रदेशका एक अर्का सांसद पनि निलम्बनमा परेका छन्। महोत्तरी क्षेत्र नम्बर ४(२) बाट जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट निर्वाचित सरोज सिंह कुशवाहालाई शुक्रबार औपचारिक रूपमा निलम्बन गरिएको हो।
उहाँको निलम्बन सम्बन्धी जानकारी प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले बैठकमा सार्वजनिक गर्नुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रका आधारमा कुशवाहालाई निलम्बन गरिएको हो।
कुशवाहा काठमाडौँको अनामनगरबाट बिहीबार पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उहाँले उपभोक्ता समितिका नाममा उठाइएको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा राखेर, त्यसपछि आफैंको खातामा ट्रान्सफर गरेकाे तथ्य खुलेको अख्तियारले जनाएको छ। सचिव कायस्थ यसअघि नै महोत्तरीबाट पक्राउ परिसकेका थिए।
यसअघि पनि मधेश प्रदेशका दुई सांसद निलम्बनमा परिसकेका छन्। नेकपा (एमाले)का सांसद तथा प्रदेशसभाका उपनेता दिपेन्द्रकुमार ठाकुरमाथि भवन निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उहाँ निलम्बनमा परेका हुन्। ठाकुर धनुषा ३(२) क्षेत्रबाट प्रदेशसभा सदस्य हुन्।
तेस्रो निलम्बनमा परेका सांसद हुन् लोसपाका नेता अभिराम शर्मा। सशस्त्र प्रहरी निरीक्षक थमन विकको हत्या अभियोगमा २०८० मङ्सिर २८ मा जन्मकैदको फैसला भएपछि २०८१ वैशाख १८ देखि उहाँ पनि पदबाट निलम्बनमा परेका हुन्।
हाल मधेश प्रदेशसभामा १०७ सदस्यमध्ये तीन जना निलम्बनमा परेपछि प्रभावकारी सदस्य संख्या १०४ पुगेको छ।