
काठमाडौं । प्रतिपक्षी दलको अवरोधले पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ ।
भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा मागले अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।
भिजिट भिसाको आवरणमा मानव तस्करी गरिएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तापक्ष सहमत नहुँदा बैठक सहजरुपमा सञ्चालन हुन सकेको छैन ।
संसद् बैठक लगातार अवरुद्ध हुँदा १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित बन्दै गएको छ ।
आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्यवको वार्षिक अनुमानमाथि छलफलको कार्यसुची राखिएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।
सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पहिलेको मागमा लचिलो बनेका विपक्षी दलहरूले संसदीय छानबिन समितिलाई बटम लाइन बनाएका छन् ।
समिति गठन नगरिए संसद् बैठक चल्न नदिने उनीहरुको अडान छ । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गराउन दलका प्रमुख सचेतकहरुसंग पटकपटक छलफल गरेपनि असफल बन्दै आएका छन् । यसैबीच संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजेका लागि बोलाइएको छ ।