
काठमाडौं । विपक्षी दलको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्यवको वार्षिक अनुमानमाथि आजदेखि छलफल प्रारम्भ हुने भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।
सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा एक बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैबीच, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलको अवरोध कायमै रहेकाले आजको बैठक पनि प्रभावित हुने देखिन्छ ।