
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट लगायत विषयमा छलफल गर्न सत्तारुढ एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक संघीय संसदको लोत्से हलमा आज दिउँसो एक बजे बस्नेछ । बैठकमा संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा संसदको अवरोध हटाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । सरकारले जेठ १५ गते बजेट ल्याएको थियो । संसदमा भोलिबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ ।
भिजिट भिसाको आवरणमा मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका विपक्षी दलले बजेटमाथिको छलफलमा पनि अवरोध कायम राख्ने देखिन्छ ।
विपक्षी दलहरुले सरकारलाई आगामी आर्थिक वर्षको बजेट पेस गर्न भने दिएको थियो । बजेट प्रस्तुतपछि कसरी अगाडि बढ्ने भन्ने विषय सरकारको कदममा आधारमा अगाडि बढ्ने विपक्षी दलका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दलका सांसदले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताइरहेपनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका दलहरुले राजीनामा दिनुपर्ने अडानमा छन् ।