Banner Nepal
आँगनमा निस्केर तमासा नदेखाउन कांग्रेस नेताहरुलाई प्रधानमन्त्री ओलीको सुझाव, गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने टिप्पणी 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिनु भएको छ । उहाँले पार्टीभित्रका आन्तरिक विषयलाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाउनु भएको हो ।

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घघाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूलाई पार्टीको विवाद सार्वजनिक रूपमा छताछुल्ल नगर्न आग्रह गर्नु भएको हो ।

गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो कटाक्ष गर्नुभयो ।  

सबै पार्टीभित्र समस्या हुनसक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले घर भित्रको विषयमाथि आँगनमा निस्केर तमासा गर्दै छिमेकीलाई डिस्टर्ब गर्न नहुने बताउनु भयो ।  

विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न कांग्रेसका नेताहरूलाई प्रधानमन्त्रीले सुझाव दिनु भएको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो । गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्टोक्ति थियो ।

उहाले भन्नु भयो – गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न । 

एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको ओलीले बताउनु भयो । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update