Banner Nepal
गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादी निर्णय, प्रधानमन्त्री ओलीका कारण लेखकको राजीनामा रोकिएको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ ।

बजेट व्यक्तव्यकालागि सदन चल्न दिएको माओवादीले सदनको अवरोध जारी राख्ने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक जोडिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग राखेको छ ।

एक पदाधिकारीले भने, ‘गृहमन्त्री राजीनामा दिन तयार भइसक्नुभएको छ । तर, बालुवाटारमा प्रधानमन्त्री ओली र शेरबहादुर देउवासहित बसेको बैठकले रोकियो ।

नत्र उहाँको राजीनामा बजेटअघि नै आइसक्थ्यो भन्ने कुरा छलफलको क्रममा उठ्यो । बैठकले थप छलफलका लागि जेठ १९ गते संसदीय दलको बैठक बस्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभाको बैठक २० गते बोलाइएको छ । गृहमन्त्रीको राजीनामा, यो प्रकरणबारे प्रधानमन्त्री ओलीको जवाफ माग्दै गर्दै माओवादीसहित विपक्षी दलहरूले सदनको अवरोध कायम राख्ने निर्णय गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री जोडिएको प्रकरणको छानबिनको लागि उच्चस्तरीय आयोग बनाउनु पर्ने माग गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update