Banner Nepal
आज १९ औं लोकतन्त्र दिवस, जनतामा छैन उत्साह 


काठमाडौं । आज बैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको आज १९ वर्ष भएको छ । यही अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी १९ औं लोकतन्त्र दिवस मनाइँदै छ ।

दिवसका अवसरमा लोकतन्त्र प्राप्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण लगायतका कार्यक्रम आयोजना गरिएका छन् । 
तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीले संयुक्त रुपमा गरेको ०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो ।

जनआन्दोलन उत्कर्षमा पुगेका दिन २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको हातमा रहेको सबै शक्ति जनताले खोसेका थिए । अर्थात् राजाले विघटन गराएको प्रतिनिधिसभा पुर्नस्थापना भयो ।

त्यही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि नै संवैधानिक राजतन्त्रमाथि प्रश्न उठ्न थालेको थियो ।

राजाले प्रजातन्त्र खोसेपछि २०६२ मंसिर ७ गते आन्दोलनरत तत्कालीन सात दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौता भयो । सात राजनीतिक दलले २०६२ चैत २४ गतेदेखि सुरु गरेको आन्दोलनलाई नेकपा माओवादीले पनि साथ दियो ।

आन्दोलन चर्किएपछि २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुर्नस्थापना  गर्न राजा तयार भए । पुर्नस्थापित प्रतिनिधिसभाको जेठ ४ गते बसेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दियो ।

त्यसपछि नेपाल लोकतन्त्रमा प्रवेश ग¥यो । २०६३ मंसिर ५ मा सरकार र माओवादी केन्द्रबीचको शान्ति सम्झौता सँगै १० वर्ष लामो सशस्त्र युद्ध अन्त्य भयो । २०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २३७ वर्ष लामो इतिहास बोकेको राजतन्त्र अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो ।

लोकतन्त्र स्थापनाको जगमा नेपाली जनताले राष्ट्रप्रमुख आफैं छान्न पाउने गणतान्त्रिक व्यवस्था मात्र आएन देशले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता विषयलाई अवलम्बन गरेको हो ।

लोकतन्त्रले किशोर अवस्था पार गरे पनि सर्वसाधारणमा भने दलतन्त्रका कारण तिब्र असन्तुष्टि चुलिएको छ । दलीय भ्रष्टिकरण बढ्दै जाँदा नागरिकमा वितृष्णा बढ्न थालेको हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update