काठमाण्डौ — नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नुको मुख्य कारण पार्टीभित्रकै कमजोरी रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबीच प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीसँग कुरा गर्दै २१ क्षेत्रमा घात–अन्तर्घातका कारण हार भएको बताएका हुन्।
उनका अनुसार ५ मतदेखि ३ हजारसम्मको झिनो मतान्तरमा पराजित भएका २१ क्षेत्र छन्, जसले आन्तरिक असन्तुलनलाई संकेत गरेको छ। ३ हजारदेखि ५ हजार मतान्तर रहेका क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी अभियान सञ्चालनमा कमजोरी भएको आशंका गरिएको छ।
त्यस्तै, ५ हजारदेखि १० हजार वा सोभन्दा बढी मतान्तरले पराजित भएका क्षेत्रमा आन्तरिक कारण, कमजोर अभियान र प्रभावकारी न्यारेटिभको अभाव प्रमुख कारणका रूपमा देखिएको कांग्रेसको विश्लेषण छ। केही स्थानमा जनविश्वासमा समेत कमी आएको हुनसक्ने विषयमा गहन छलफल भइरहेको प्रवक्ता चालिसेले जानकारी दिए।
क्रियाशील सदस्य संख्या वृद्धि भइरहँदा मत घट्दै जानु चिन्ताजनक रहेको उल्लेख गर्दै उनले तथ्यमा आधारित विस्तृत अध्ययन आवश्यक रहेको बताए। ‘झन्डै साढे ८ लाख क्रियाशील सदस्य भएको पार्टीले अपेक्षाअनुसार मत किन पाएन?’ भन्ने प्रश्न उठाउँदै उनले समग्र रिपोर्टहरूको समन्वित विश्लेषणपछि निष्कर्ष निकालिने बताए।
जिल्लाबाट प्राप्त विवरण र केन्द्रीय प्रतिवेदनलाई एकीकृत गरी सूक्ष्म अध्ययन गरिने र त्यसका आधारमा आगामी रणनीति तय गरिने कांग्रेसले जनाएको छ। साथै, पार्टीलाई पुनः सुदृढ बनाउँदै नयाँ ऊर्जा सहित अघि बढ्ने तयारीसमेत गरिएको छ।


