काठमाण्डौ — डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आफू स्तब्ध बनेको उल्लेख गर्दै उनले पद त्याग गरेका हुन्।
लोहनीले विज्ञप्तिमार्फत पार्टीका जिम्मेवार पदाधिकारीहरूले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। जनभावनाअनुसार तदर्थ समिति गठन गरी छिट्टै महाधिवेशन गर्नुपर्ने प्रस्तावसमेत उनले अघि सारेका छन्।
महाधिवेशनबाट नयाँ जिम्मेवारी प्राप्त भएपछि मात्र पदमा रहने अभ्यासअनुसार आफूले राजीनामा दिएको उल्लेख गर्दै उनले समयअनुकूल नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
निर्वाचनमा आन्तरिक तथा अन्य विविध कारणले निराशाजनक नतिजा आएको जनाउँदै लोहनीले अब पार्टी जनभावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

