काठमाडौँ — आम निर्वाचनअघि आक्रामक र उत्तेजक अभिव्यक्ति दिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले भने संयमित र जिम्मेवार शैलीमा प्रस्तुत हुन थालेका छन्। झन्डै दुई तिहाइ नजिकको बहुमतपछि उनले आफ्नो राजनीतिक अभिव्यक्तिमा स्पष्ट परिवर्तन देखाएका छन्।
ग्वार्कोमा आयोजित पार्टीका सांसदहरूको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनमा लामिछानेले राष्ट्रिय जीवनका विभिन्न क्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र लगानीकर्तालाई आफ्नो नेतृत्वप्रति विश्वास गर्न अपिल गरे। उनले विगतको आक्रामकता त्याग्दै अब परिणाममुखी राजनीतिमा केन्द्रित हुने संकेत दिएका छन्।
लामिछानेले पार्टीभित्र अनुशासन कायम राख्न र सामाजिक सञ्जालमा देखिने आक्रामक व्यवहार रोक्न कार्यकर्तालाई निर्देशन दिएका छन्। विपक्षीमाथि तुच्छ टिप्पणी नगर्न आग्रह गर्दै उनले सांसदहरूलाई जनताको सेवकका रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सांसदहरूलाई सरकारी अस्पतालमै उपचार सेवा लिन, निजी जीवनको अत्यधिक स्वतन्त्रता त्याग्न र अनुशासनमा बस्न आग्रह गरे। साथै, मन्त्री बन्ने होडमा नलाग्न र स्वार्थ समूहहरूको प्रभावबाट सावधान रहन चेतावनी दिएका छन्।
अघिल्ला राजनीतिक दलहरूको ऐतिहासिक योगदानको सम्मान गर्दै भविष्यको जिम्मेवारी आफ्नो पार्टीले लिने सन्देश उनले दिएका छन्। नागरिकले दिएको विश्वासको मूल्य बुझ्नुपर्ने उल्लेख गर्दै उनले परिणाममार्फत् त्यो विश्वास फर्काउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएनन्। उनको स्वास्थ्य अवस्थाका कारण अनुपस्थित रहेको बताइए पनि महत्वपूर्ण कार्यक्रममा सहभागी नभएको विषयले चासो उत्पन्न गरेको छ।

