Banner Nepal
समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र वितरण

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीबार बिहान प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजे आयोगको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिनेछ।

समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा कुल ११० जना सांसद निर्वाचित भएका छन्। आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समान ४–४ सिट निर्धारण गरिसकेको छ।

प्रमाणपत्र वितरणपछि सोही दिन दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने कार्यक्रम तय गरिएको छ। शीतलनिवासमा अपराह्न ४ बजे प्रतिवेदन बुझाइनेछ।

त्यसपछि साँझ साढे ५ बजे आयोगले पत्रकार सम्मेलनमार्फत निर्वाचनसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update