Banner Nepal
हारको कारण खोज्दै कांग्रेस, केन्द्रीय समिति बैठक चाँडै

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि नेपाली कांग्रेस आन्तरिक समीक्षामा जुटेको छ । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक नेतृत्व परिवर्तनसहित चुनावी मैदानमा उत्रिए पनि सन्तोषजनक परिणाम ल्याउन नसकेपछि पार्टीभित्र समीक्षा प्रक्रिया सुरु गरिएको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार हाल अनौपचारिक रूपमा चुनावी परिणामबारे समीक्षा भइरहेको छ । उनले चाँडै केन्द्रीय समिति बैठक बोलाएर औपचारिक छलफल गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

यसपटक कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै दोस्रो दलमा सीमित भएको छ । चुनावी परिणामबारे पार्टी सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, साथै महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ ।

पार्टीभित्र भने हारको कारणलाई लिएर मतभेद देखिएको छ । संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूको असहयोगलाई प्रमुख कारण मानेको छ । तर देउवा पक्षले वर्तमान नेतृत्वलाई पूर्ण रूपमा स्वीकार नगरेको अवस्था अझै कायम रहेको बताइएको छ ।

कांग्रेसभित्रको यो आन्तरिक द्वन्द्वले आगामी रणनीति र नेतृत्व व्यवस्थापनमा समेत प्रभाव पार्ने देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update