Banner Nepal
दलहरूले बुझाए समानुपातिक सदस्य सूची, आयोगले थाल्यो प्रमाणीकरण प्रक्रिया

 

प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ चयन हुने सदस्यहरूको नामावली प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचीमाथि आयोगले क्लस्टरअनुसार रुजु तथा प्रमाणीकरण प्रक्रिया सुरु गरेको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीले आइतबार आयोगसमक्ष समानुपातिक सदस्यहरूको नामावली पेस गरेका हुन् । रास्वपाले समानुपातिकतर्फ ४८ महिला र नौ पुरुष गरी कुल ५७ जनाको सूची सिफारिस गरेको जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपाले खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेशी नौ र थारू चार गरी ५७ जनाको नाम आयोगमा पठाएको हो । आयोगबाट प्रमाणीकरण नभएसम्म उक्त सूची सार्वजनिक नगर्ने निर्णय पार्टीले गरेको उनले बताए ।

पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेकाले समानुपातिक सांसदको सूची टुङ्गो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल माध्यमबाट बसेको थियो । बैठकमा उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सहित अन्य नेताहरू सहभागी भएका थिए ।

यस्तै नेपाली कांग्रेसले पनि समानुपातिकतर्फ प्राप्त २० सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा पठाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले बन्दसूचीमा रहेका उम्मेदवारमध्ये समावेशी समूहको आधारमा सदस्य छनोट गरी आयोगमा पठाइएको जानकारी दिए । कांग्रेसले आदिवासी जनजाति र खसआर्य समूहबाट समान ६/६ जना, थारूबाट एक, मधेशीबाट तीन, दलितबाट तीन र मुस्लिमबाट एक जनाको नाम सिफारिस गरेको जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आइतबार नौ जना समानुपातिक सदस्यको सूची आयोगमा बुझाएको छ । पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार विभिन्न समावेशी समूहअनुसार उम्मेदवारहरूको नामावली पेस गरिएको हो ।

निर्वाचन आयोगका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका छ राजनीतिक दलहरूले समानुपातिक प्रणालीअन्तर्गत कुल ११० सदस्यको सूची पेस गरेका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले क्लस्टरअनुसार सूची मिलेको वा नमिलेको जाँच प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यदि दलहरूले बुझाएको सूचीमा त्रुटि नदेखिए सोमबार नै निर्वाचित सदस्यहरूको अन्तिम सूची सार्वजनिक गरिने आयोगले जनाएको छ । तर क्लस्टर मिलानमा त्रुटि भेटिए सच्याउन तीन दिनसम्म समय लाग्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update