काठमाण्डौ — शिक्षा, स्वास्थ्य, धर्म तथा सामाजिक क्षेत्रमा करिब १५ वर्षदेखि सक्रिय डा. सुरेन्द्र ढकाल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। सुशासन र समृद्ध नेपाल निर्माणको लक्ष्यसहित उनले ‘करौति’ चुनाव चिन्हमार्फत मत मागिरहेका छन्।
डा. ढकालले आफ्नै व्यक्तिगत सम्पत्तिबाट ‘सुरेन्द्र ढकाल प्रतिष्ठान’ स्थापना गरी बालबालिका, विपन्न तथा कमजोर वर्गका लागि विभिन्न शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। स्वास्थ्य सेवा विस्तार, गरिब तथा असहाय नागरिकको उपचारमा सहुलियत र निःशुल्क सेवा उपलब्ध गराउने पहल उनका प्रमुख कार्यमध्ये पर्छन्।

काठमाडौँ क्षेत्र नम्बर १ राजनीतिक, बौद्धिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँको उच्च नागरिक चेतना र राजनीतिक सक्रियताबीच ढकालको उम्मेदवारीलाई स्थापित दलगत संस्कारमाथि उठेको वैकल्पिक प्रयासका रूपमा हेरिएको छ।
जर्मनीको एक प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनले युरोपेली शासन प्रणालीबाट पारदर्शिता, उत्तरदायित्व र सेवामुखी नेतृत्वको अभ्यास सिकेको बताउने गरेका छन्। उनका अनुसार राजनीति शक्ति आर्जनको माध्यम नभई जनसेवाको माध्यम हुनुपर्छ।

डा. ढकालले करिब आठ करोड रुपैयाँ बराबरको आफ्नो निजी सम्पत्ति प्रतिष्ठानको नाममा राखेका छन्। उक्त सम्पत्तिबाट प्राप्त बैंक ब्याजमार्फत काठमाडौँ–१ भित्रका ५२ सामाजिक संस्थालाई २५ हजारदेखि डेढ लाख रुपैयाँसम्म नियमित सहयोग गर्दै आएको जनाइएको छ। स्थानीय समुदायले यी सहयोगहरू प्रचारभन्दा आवश्यकतामा आधारित रहेको स्वीकार गरेको बताइन्छ।
दलहरूमा देखिएको शक्ति केन्द्रित प्रवृत्ति, गुटबन्दी र जनउत्तरदायित्वको अभावप्रति असन्तुष्टि व्यक्त गर्दै उनले स्वतन्त्र उम्मेदवारी रोजेको स्पष्ट पारेका छन्। गरिब, विपन्न र पहुँचबाट टाढा रहेका समुदायका पक्षमा निरन्तर वकालत गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
करोडौँ सम्पत्तिका धनी भए पनि उनी साधारण जीवनशैली अपनाउने गर्छन्। निजी सवारीभन्दा साइकिल प्रयोगलाई प्राथमिकता दिने उनले इन्धन प्रयोग नगर्ने निर्णयसमेत लिएको बताएका छन्।







