
युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएका अनुमान गरिएको छ। सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस)ले मङ्गलबार यस्तो जानकारी सार्वजनिक गरेको हो।
गत अप्रिलमा एनआइएसले युद्धमा मारिएका सैनिकको संख्या कम्तीमा ६ सय रहेको तथ्याङ्क प्रस्तुत गरेको थियो। तर ताजा मूल्याङ्कनअनुसार मृतकको संख्या करिब दुई हजार पुगेको सांसद ली सेओङ–क्वेनले जासुसी एजेन्सीबाट ब्रिफिङ पाएपछि पत्रकारहरूसँग जानकारी दिएका छन्।
दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूले सन् २०२४ मा उत्तर कोरियाले १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको जनाएका छन्। ती सैनिक मुख्यतया कुर्स्क क्षेत्रमा तैनाथ गरिएको थियो, जहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली सञ्चालन गरेका थिए।
सांसद लीका अनुसार प्योङयाङले थप ६ हजार सैनिक र इन्जिनियरहरू रुसमा पठाउने योजना बनाएको छ। तीमध्ये करिब १ हजार हालसालै आइपुगेको एनआइएसले विश्वास गरेको छ। सांसद लीले भने,
“हालैको ६ हजार सैनिकको तेस्रो तैनाथी योजनामा करिब १ हजार लडाकू इन्जिनियरहरू रुसमा प्रवेश गरिसकेका छन्।”
यस वर्षको सुरुमा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले कुर्स्क क्षेत्रमा निर्माणकर्ताहरू र विस्फोटक हटाउने प्राविधिकहरू पठाउने जानकारी दिएका थिए।
उत्तर कोरियाले अप्रिलमा मात्र युक्रेनमा रुसको युद्धमा सहयोग गर्न सेना पठाएको स्वीकार गर्दै केही सैनिकको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसपछिका दिनहरूमा नेता किम जोङ–उनले रुसमा लडिरहेका सैनिकको परिवारसँग भेट गरी उनीहरूको ‘असहनीय पीडा’ प्रति समवेदना व्यक्त गरेका थिए। राज्य सञ्चालित मिडियाले सैनिकलाई अँगालेको र नेताको छातीमा टेकेर रोइरहेको तस्बिर सार्वजनिक गरेको थियो।
त्यसैगरी, शहीद सैनिकको तस्बिर अगाडि घुँडा टेकेर श्रद्धाञ्जलि अर्पण गर्दै पदक र फूल राखिएको दृश्य पनि सार्वजनिक भएको थियो। रुस र उत्तर कोरियाले गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाली दुर्लभ भ्रमणको क्रममा आपसी रक्षा खण्डसहित सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए।