
काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई निष्कासन गरी बुधबार (सेप्टेम्बर ३) चार्टर विमानमार्फत नेपाल ल्याइने भएको छ। अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले उनीहरूलाई ओम्नी एयरको ‘एन८२८एएक्स’ फ्लाइटमार्फत काठमाडौं पठाउने तयारी गरेको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार मंगलबार दिउँसो अमेरिकी पक्षबाट यसबारे आधिकारिक जानकारी आएको छ।
डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बनेपछि हालसम्म दुई सयभन्दा बढी नेपाली नागरिकलाई निष्कासन गरी फिर्ता पठाइसकिएको छ। प्रहरी तथ्यांकअनुसार, डिपोर्ट भएकाहरू २८ जिल्लाका छन्, जसमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका रहेका छन्।
निष्कासनमा परेकामध्ये अधिकांशले संगठित गिरोहलाई रकम बुझाएर अवैध बाटोमार्फत अमेरिका प्रवेश गरेका थिए। ट्रम्प प्रशासनले जनवरी २०२५ मा पदभार सम्हाल्नेबित्तिकै अवैध आप्रवासीविरुद्ध कडा कदम चाल्दै नेपालसहित विभिन्न मुलुकका नागरिकलाई फिर्ता गर्ने नीति लिएको हो।
अमेरिकाले हालसम्म नेपालसहितका मुलुकबाट अवैध रूपमा प्रवेश गरेका १४ लाख ४५ हजारभन्दा बढीलाई निष्कासनको सूचीमा राखेको जनाएको छ। यस सूचीमा मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस र भेनेजुएलाका नागरिक धेरै संख्यामा परेका छन्।