Banner Nepal
गुल्मीमा विद्यार्थी अपहरणको हल्लाले प्रहरी र अभिभावकलाई दौडायो

रुपन्देही । गुल्मीको मदाने–६ कंकेदेउरालीबाट विद्यालय जाँदै गरेका विद्यार्थी अपहरणमा परेको हल्लाले मंगलबार जिल्लाभर त्रास फैलिएको छ। तर पछि अनुसन्धानमा यो घटना अपहरण नभई विद्यार्थीहरूले रचेको नाटक भएको खुलेको छ।

पृथ्वी मावि, पुर्कोटतर्फ जाँदै गरेका आठ विद्यार्थीमध्ये एक जना नजिकैको मन्दिरमा लुकेपछि साथीहरू रुन, चिच्याउन थालेका थिए। यसैबीच “विद्यार्थी अपहरण” भएको समाचार फैलिँदा प्रहरी, स्थानीय प्रशासन र अभिभावकहरू उच्च सतर्कतामा उत्रिएका थिए।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सानो गलत सूचनाले अनावश्यक तनाव सिर्जना भएको बताए। उनका अनुसार, विद्यालय जाँदै गरेका बालबालिकालाई कसैले जिस्काएको घटनालाई अपहरणको रूपमा हल्ला फैलाइँदा अभिभावक, प्रहरी र प्रशासन सबै गुमराहमा परे।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगाबहादुर सारुले विद्यार्थीहरूले विद्यालय ढिलो भएको कारण अपहरणको नाटक रचेको जानकारी दिए। उनका अनुसार, यस्तो संवेदनशील विषयमा नाटक गर्नुले भविष्यमा साँच्चिकै समस्या परे पनि उद्धारमा ढिलाइ हुन सक्ने जोखिम रहन्छ।

विद्यालय प्राचार्य मदनबहादुर कुँवर क्षेत्रीले हल्लापछि सम्पूर्ण विद्यार्थी, शिक्षक, स्थानीयवासी र प्रहरी खोजीमा संलग्न भएको बताए। केही विद्यार्थीले साथी अपहरणमा परेको भन्दै रोएको भिडियोसमेत सार्वजनिक भएपछि त्रास थपिएको थियो।

स्थानीय वडाध्यक्ष मनिराम थापाले विद्यार्थीहरूले गृहकार्य नगरेर विद्यालय नगएका कारण यस्तो नाटक रचिएको दाबी गरे। प्रहरीका अनुसार, अपहरण भएको भन्ने दाबी निराधार रहेको पुष्टि भइसकेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update