Banner Nepal
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच विकास साझेदारीबारे छलफल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपालको अर्थतन्त्र, सहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरणजस्ता विषयमा व्यापक छलफल भएको थियो। अर्थमन्त्री पौडेलले पछिल्लो वर्षका तुलनामा आर्थिक सूचकमा देखिएको उल्लेखनीय सुधारबारे जानकारी गराउँदै नीति, संरचना, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार भइरहेको बताए।

पौडेलले विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालको विकास प्राथमिकतासँग मेल खाने बताए। उनले उक्त फ्रेमवर्कअनुसार आयोजना तथा कार्यक्रम कार्यान्वयनमा सरकारले विश्व बैंकसँग सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे। साथै, प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएपछि निजी क्षेत्रसँग साझेदारीमा प्रतिफलमुखी परियोजनामा लगानी हुने बताए।

उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर कायम गर्न विश्व बैंकले आवश्यक सहयोग गर्ने आश्वासन दिए। उनले लुम्बिनी र काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार विकास, प्रदूषण न्यूनीकरण तथा आर्थिक वृद्धि क्षेत्रमा सहयोग गर्ने उल्लेख गर्दै निजी क्षेत्रको संलग्नता अपरिहार्य रहेको बताए।

उनले नेपालको आर्थिक सूचकहरू सुधार हुनु सकारात्मक भएको बताए पनि लगानी विस्तार अझै आवश्यक रहेको टिप्पणी गरे। वैकल्पिक विकास वित्तसम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा नयाँ अवसरहरू खुल्ने विश्वास व्यक्त गर्दै उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्ने सुझाव दिए।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update