
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १२.०३ अंकले बढ्दै नेप्से परिसूचक २७६१.८६ विन्दुमा पुगेको छ ।
दिनभर उतारचढावसँगै चलेको बजार ११:४१ बजे २७४१ अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु रह्यो । तर, दिउँसो २ बजेपछि बजारले उकालो लिँदै सकारात्मक समापन गरेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भए पनि सोमबार ५ अर्ब १० करोडमै सीमित भएको छ ।
क्षेत्रगत सूचकमा बैंकिङ समूहले सबैभन्दा बढी १.५० प्रतिशतले वृद्धि गर्दै बजारलाई अगाडि बढाएको छ । यस्तै, विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, उत्पादन ०.३६, माइक्रोफाइनान्स ०.२७ र निर्जीवन बीमा ०.३० प्रतिशतले बढे भने जीवन बीमा स्थिर रह्यो । व्यापार समूह ०.८५ र अन्य समूह ०.०३ प्रतिशतले घटे ।
कम्पनीगत कारोबारमा हिमस्टार एनर्जीको मूल्य सबैभन्दा बढी ६.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता २६७.५० रुपैयाँ पुगेको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंक ४.०८, सिद्धार्थ बैंक ३.२८ र महिला लघुवित्त ३.२१ प्रतिशतले बढे । विपरीततर्फ, उन्नति सहकार्य लघुवित्त ७.६८ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्यो ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक परेका छन् ।