
काठमाण्डौ । अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा भदौ १४ गतेदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । तीन दिन बितिसक्दा पनि बाटो नखुल्दा जुम्लाबाट स्याउ बोकेर गएका करिब २० ट्रक सडकमै अलपत्र परेका छन् ।
सडकमा ठुला ढुङ्गा खस्दा ब्रेकरले समेत फुटाउन नसकेपछि सेनाको सहयोगमा ब्लास्टिङ गरेर सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
राजमार्ग बन्द हुँदा अलपत्र परेको स्याउ कुहिने अवस्था बनेको व्यापारीहरू बताउँछन् । जुम्लामा उत्पादन भएको स्याउ दशैँ–तिहारअघि बिक्री हुने मुख्य आम्दानीको स्रोत हो । तर, अवरोधकै कारण किसान र व्यापारी दुवै घाटामा पर्नुपर्ने अवस्था आएको छ । करिब सात सय क्विन्टल स्याउ ढुवानीमा रोकिँदा करोडौँको नोक्सानी हुने आशंका गरिएको छ ।
यस वर्ष जुम्लामा करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । तर, असिनापानीले करिब पाँच लाख बोट स्याउमा क्षति पु¥याउँदै १६ करोड रुपैयाँ बराबरको नोक्सानी गरेको थियो । उत्पादन घट्दै जाँदा मूल्य केही बढे पनि सडक अवरोधले व्यापारी र किसान थप मारमा परेका छन् ।
गत वर्ष पनि यसै समयमा कर्णाली राजमार्ग तीन दिनसम्म बन्द हुँदा ६३ वटा ट्रक स्याउ अलपत्र परेको थियो । स्थानीय भिरालो भूगोल र कमजोर सडक संरचनाले हरेक वर्ष पहिरोको जोखिम बढाउने देखिएको छ ।