
काठमाण्डौ । दार्चुलामा अटो दुर्घटनामा परी एक बालिकाको मृत्यु हुनुका साथै दुई जना महिला वेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब १ बजे नौगाड गाउँपालिका–५ सौकेबगर नजिकैको सडक खण्डमा म–१ ह–११४८ नम्बरको अटो करीब ५० मिटर तल नौगाड खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा करिब १२–१३ वर्षकी एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत अझै हुन बाँकी छ ।
अटोमा सवार दुई महिला खोलामा वेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् । उनलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अटो नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ जाँदै गरेको बेला सडकबाट खसेको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ । घटनास्थलमा स्थानीय प्रहरी टोली खटिएको दार्चुला प्रहरीले जनाएको छ ।