Banner Nepal
अवकाश उमेर विवाद : मन्त्री न्यौपानेले बीचमै बैठक छाडिन्

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने आफ्नो प्रस्ताव बहुमतले समर्थन नपाएपछि राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर बाहिरिएकी छन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको समितिको बैठकमा निजामती कर्मचारीको अवकाश उमेरबारे छलफल भइरहेको थियो । प्रतिनिधि सभाले पारित गरेको प्रावधानअनुसार मुख्यसचिवको अवकाश उमेर हाल ५८ वर्ष तोकिएको छ, जसलाई अर्को वर्ष ५९ र त्यसपछि ६० वर्ष पुर्‍याउने व्यवस्था गरिएको छ । तर, मन्त्री न्यौपानेले नयाँ प्रस्तावमार्फत ५९ वर्षमै अवकाश सुरु गर्ने प्रावधान ल्याउन खोजेकी थिइन् ।

उनको प्रस्तावलाई सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन गरे पनि विपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले विरोध गरेपछि सहमति जुटेन । विवाद बढेपछि मन्त्री न्यौपाने बैठक छोडेर बाहिरिएकी हुन् ।

समिति सभापति तुलसीकुमारी दाहालले मन्त्रीले समय मागेपछि बैठकबाट बाहिरिएको जानकारी दिँदै या त मन्त्रालयले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने वा सांसदहरूले सरकारको प्रस्ताव मान्नुपर्ने स्थिति बनेको बताइन् ।

मन्त्री बाहिरिए पनि बैठक भने जारी छ । माओवादी सांसद झक्कुप्रसाद सुवेदीले प्रतिनिधि सभाले पारित गरिसकेको प्रावधान उल्ट्याउन आवश्यक नरहेको टिप्पणी गर्दै सरकारले प्रस्ताव ल्याएर अस्वीकार भएमा बैठक छोडेर हिँड्ने कार्य गलत भएको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update