
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा उम्मेदवार छनोटका लागि पहिलोपटक प्राइमरी इलेक्सन गरेको छ । तर दुई दिन (३६ घण्टा)सम्म भएको यो अभ्यासमा अपेक्षाकृत न्यून मतदान देखिएको छ ।
रास्वपाका २ हजार ७७८ मतदाता (२,७१६ क्षेत्रीय सदस्य र ६२ केन्द्रीय सदस्य) मध्ये १,५६७ जनामात्र मतदानमा सहभागी भए । यो कुल संख्याको करिब ५८ प्रतिशत हो । तर, विशेष ध्यान खिच्ने कुरा केन्द्रीय सदस्यहरूको सहभागिता हो । ६२ जनामध्ये २७ जनामात्र मतदान गरे भने ३५ जना सदस्यको भोट खसेन ।
यसरी न्यून मतदान हुनुका कारणबारे विभिन्न तर्क आएका छन् । कतिपय तल्लो तहका सदस्यहरूसँग स्मार्टफोन नहुँदा भोट हाल्न नसकेको दाबी गरिए पनि केन्द्रीय सदस्यहरूको अनुपस्थितिले भने गम्भीर प्रश्न खडा गरेको छ । ‘उम्मेदवारलाई राम्ररी नचिनेकाले भोट हाल्न हिच्किचिएको’ वा ‘जानाजानी ‘नो भोट’ गरिएको’ अनुमानसमेत गरिएको छ ।
यसैबीच, करिब तीन दर्जन सदस्यले रास्वपाको केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । उनीहरूले भोट हाल्न नपाएको तथा प्रणाली ह्याक भएको दाबी गरेका छन् । पार्टी स्रोतका अनुसार ३२–३३ उजुरी दर्ता भएका छन् ।
रुपन्देही जिल्ला अध्यक्ष डा. बुद्धि शर्माले प्राविधिक कारण र भोटिङ लोड हुँदा समस्या भएको स्वीकार गरेका छन् । उनका अनुसार केही सदस्यका युजर पासवर्डसमेत मिलेनन् । उनले पहिलो अभ्यास भएकाले देखिएका समस्या आगामी दिनमा समाधान हुने दाबी गरे ।
रास्वपाले विवादबारे छानबिन गर्न कार्यदल गठन गर्ने तयारी गरेको छ ।