Banner Nepal
अमेरिकाबाट प्राप्त दुई जहाज नेपाली सेनालाई हस्तान्तरण हुने

काठमाण्डौ । अमेरिकाले नेपाली सेनालाई दुई वटा जहाज उपलब्ध गराउने भएको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका ती जहाजमध्ये एउटा ‘स्काईट्रक’ र अर्को ‘एयर एम्बुलेन्स’ रहेका छन् ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निकट भविष्यमा औपचारिक कार्यक्रममार्फत् यी जहाज सेनालाई हस्तान्तरण गरिनेछ । उनका अनुसार स्काईट्रक विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा प्रयोग गरिनेछ भने एयर एम्बुलेन्स सुत्केरी, बिरामी तथा घाइतेको उद्धारका लागि सञ्चालन गरिनेछ ।

नेपालमा यसअघि कुनै पनि समर्पित एयर एम्बुलेन्स नभएको र सेनाले पाउन लागेको यो जहाज नेपालकै पहिलो एयर एम्बुलेन्स हुने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन् । उनका अनुसार विगतमा निजी एयरलाइन्सका जहाजलाई अस्थायी रूपमा प्रयोग गरिएको भए पनि आधिकारिक रूपमा दर्ता भएको एयर एम्बुलेन्स नभएकै हो ।

अमेरिकी सरकारले यसअघि सन् २०१९ मा पनि दुई जहाज उपलब्ध गराएको थियो । नयाँ प्राप्त दुई जहाजसँगै नेपाली सेनासँग जहाजको संख्या २० पुगेको छ ।

भूलका अनुसार सेनाको एयर एम्बुलेन्स सञ्चालनमा आएपछि विदेशी एयर एम्बुलेन्स भाडामा ल्याउँदा लाग्ने खर्चको तुलनामा करिब ४० प्रतिशत सस्तो पर्नेछ । उनले यसलाई नेपालमा हवाई स्वास्थ्य सेवाको नयाँ सुरुवातका रूपमा लिएको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update