 
                                                                    काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबीच कार्यसम्पादन सम्झौता भएको छ। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्तिका लागि आवधिक योजना र स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिएका हुन्।
उनले गत आर्थिक वर्षमा पूँजीगत खर्चको नतिजा राम्रो आए पनि अझ प्रभावकारी ढंगले काम गरेर उच्च उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए। सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई परिणाममुखी कार्यसम्पादन गर्न उनले निर्देशन दिए।
मन्त्रालयका सचिव शर्माले महिनावार लक्ष्य तोकेर त्यसअनुसार नतिजा निकाल्न विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिएका छन्। उनले सम्झौतामा समेटिएका सूचकहरू प्राप्त गर्न माइलस्टोनअनुसार काम अघि बढाउनुपर्ने बताए।
यसअघि साउन २९ गते प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको थियो। सोही आधारमा मन्त्री र सचिवबीच सम्झौता भएको र अब विभागीय तथा महाशाखा प्रमुखहरूसँग सम्झौता गरिने मन्त्रालयले जनाएको छ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    