 
                                                                    काठमाण्डौ – विराटनगरमा आयोजित उद्घोष दैनिक पत्रिकाको वार्षिकोत्सवमा सहभागी हुन पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि राजनीतिक भेटघाटमै व्यस्त भइन्। विमानस्थलमा उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश सचिव राजकुमार भण्डारी पुगे पनि यसपटक केही चर्चित अनुहार भने अनुपस्थित रहे।
भण्डारी बस्ने होटल बिगमै मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी मन्त्री एकराज कार्की पुगे। उनीहरूसँग भेटमा भण्डारीले प्रदेश सरकारमा दलहरूको सहभागिता र कामकारबाहीबारे जिज्ञासा राखेको स्रोतले जनायो। एमालेसँगै नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताले पनि उनलाई भेटे।
एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मी परिवारसहित भेट्न पुगेका थिए। रेग्मीका अनुसार भण्डारीले प्रतिकूल परिस्थितिकै कारण पुनः सक्रिय राजनीतिमा फर्किन बाध्य भएको बताइन्। एमाले संस्थापनले उनलाई निषेधको नीति लिँदै आए पनि स्थानीय कार्यकर्ता र प्रदेशस्तरीय नेताहरूको सक्रियता भने फरक देखिएको छ।
काठमाडौं फर्किनुअघि भण्डारीले मोरङको पाञ्चालीस्थित एमाले कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरिन्। उनले पुनः सदस्यता नवीकरण गरेर पार्टीमा सक्रिय रहेको स्पष्ट पार्दै आर्थिक आत्मनिर्भरता, राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा काम गर्ने अठोट व्यक्त गरिन्।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    