 
                                                                    काठमाण्डौ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार मधेशकेन्द्रित दलका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। आफ्नो भ्रमणको दोस्रो दिन उनले राजधानीको होटल द्वारिकाजमा विभिन्न मधेशकेन्द्रित दलका शीर्ष नेतासँग छलफल गरेका हुन्।
भेटमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल सहभागी थिए।
नेता हृदयश त्रिपाठीका अनुसार, भेटमा दुई देशबीचको सम्बन्धलाई मुख्य एजेन्डाका रूपमा राखेर कुराकानी भएको थियो।
मिस्री आइतबार काठमाडौं आएका हुन्। दुईदिने औपचारिक बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजु देउवा तथा परराष्ट्र सचिव अमृत राईसँग पनि भेटवार्ता गरेका छन्।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    