 
                                                                    काठमाण्डौ – दुई साताअघि डिल्लीबजार कारागारबाट मुक्त भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक मुख खोलेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सो दिनको घटनाक्रमबारे विस्तृत खुलासा गरेका हुन्।
उनका अनुसार, सो दिन करिब एक दशकपछि पहिलोपटक गाडी चलाउँदै गर्दा आफूलाई मार्ने षड्यन्त्र भइरहेको थाहा पाएपछि प्रहरीकै सुरक्षामा पुगे।
“म गाडी लिएर प्रहरीकैमा छिरेँ, किनकि योजना भए पनि एक–दुईलाई मात्र भनिएको होला भन्ने लाग्यो,” प्रसाईंले स्मरण गरे।
प्रहरी अधिकृतले आफूले लिएको निर्णयलाई उचित ठहर गर्दै कार्यक्रम सकेर फर्किन सुझाव दिएको उनले सुनाए। त्यसपछि मञ्चमा पुगेका प्रसाईंले प्रहरी र आफ्ना समर्थकलाई संयमित रहन आग्रह गरेको बताए।
उनले थपे, “मैले मञ्चमै प्रहरीलाई अश्रुग्यास नहान्न र समर्थकलाई धक्कामुक्का नगर्न आग्रह गरेँ।” त्यहीबेला एक जना सिभिल प्रहरीले आफूलाई प्राणघातक योजना रहेको सूचना दिएको र तत्क्षण उपत्यका छाडेको उनले बताए।
प्रसाईंका अनुसार, कर्फ्यु लागू हुँदा उनी पहिले नै काठमाडौं छाडिसकेका थिए। उनले भने, “मलाई इन्काउन्टर गर्ने आदेश रहेछ। यसअघि पनि यो देशमा मदन भण्डारी बाँचेको भए अरुलाई मौका मिल्दैन थियो भन्ने सोचले उहाँलाई मारियो।”


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    