 
                                                                    काठमाण्डौ – विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसेको छ। विवादित विषयहरूलाई थाती राखेर समितिले प्रतिवेदन तयार पारेको भए पनि पूर्ण छात्रवृत्तिको मुद्दा अझै टुंगो लाग्न सकेको छैन।
गत २२ साउनमा बसेको समितिको बैठकले निजी विद्यालयको पूर्ण छात्रवृत्तिबारे सहमति जुटाउन सकेको थिएन। यही विषय आजको बैठकमा पुनः प्रस्तुत हुँदैछ।
यसअघि आइतबार बसेको समन्वय परामर्श उपसमितिको बैठकले पनि सहमति निकाल्न नसकेको थियो। निजी विद्यालय सञ्चालकहरूले छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने तर्क गरिरहेका छन् भने समितिका सदस्यहरूले यिनलाई पनि पूर्ण छात्रवृत्तिमा समेटिनुपर्ने धारणा राखिरहेका छन्।
छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत सबै शुल्कलाई पूर्ण छात्रवृत्तिको परिभाषामा राखिएको छ। तर यसै प्रतिवेदनमा आवास र पोशाक हटाउने प्रस्ताव उठेपछि विवाद चर्किएको हो।
यस मुद्दामा निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन सुरु गरिसकेका छन्। सो विधेयकप्रति शिक्षक महासंघले पनि असन्तुष्टि जनाउँदै भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    