 
                                                                    काठमाण्डौ – दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले मिनरल वाटर उद्योग स्थापना गर्ने भएको छ। संस्थाले बहुउद्देश्यीय प्रकृतिका व्यवसायिक योजनामा लगानी विस्तार गर्ने नीति अनुसार “मेची सहकारी जल उद्योग” दर्ता गरी आवश्यक मेसिनरी जडान कार्य सुरु भइसकेको अध्यक्ष नारायणप्रसाद भट्टराईले जनाएका छन्।
पानी उद्योग सञ्चालनका लागि सहकारीले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ। २९औं वार्षिकोत्सव तथा ३१औं साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले आवास कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने जानकारी दिए। सहकारीले दुई वर्षअघि एकीकृत बस्ती विकास अवधारणाअन्तर्गत आवास निर्माण गरी सदस्यलाई हस्तान्तरण गरिसकेको छ भने “आवास–२” निर्माणका लागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
यस्तै, सहकारी विद्यालय सञ्चालनका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको र त्यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। खाली जग्गा भाडामा लिएर फलफूलका बिरुवा रोप्ने योजना पनि अघि सारिएको छ जसमा करिब २ करोड रुपैयाँ लगानी हुनेछ।
सदस्य कल्याण कार्यक्रमअन्तर्गत सहकारीले यस वर्षदेखि सदस्यका छोराछोरीलाई सहकारी विषयमा विद्यावारिधि गर्न चाहे १ लाख रुपैयाँ अध्ययन खर्च उपलब्ध गराउने घोषणा गरेको छ।
हाल १७ हजार ८१७ जना शेयर सदस्य रहेको सहकारीमा ३ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बचत संकलन भएको छ। ३९ करोड ७० लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ६ करोड ५७ लाख नाफा आर्जन गरेको र राज्यलाई २ करोड ७४ लाख कर तिरेको प्रमुख कार्यकारी अधिकृत खेमप्रसाद बगालेले बताए। चालु आर्थिक वर्षमा थप दुई हजार सदस्य जोड्ने लक्ष्य पनि राखिएको छ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    