 
                                                                    काठमाण्डौ — अविरल वर्षापछि खसेको पहिरोले पूर्वदेखि पश्चिमसम्मका महत्वपूर्ण सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोका कारण केचना–कञ्चनजङ्घा सडक ठप्प भएको हो। यससँगै इलामको गोलाखर्क हुँदै झापा जाने वैकल्पिक सडक पनि अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन मेची राजमार्गमार्फत मात्र सञ्चालनमा आएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार, नेपाल प्रहरी, सडक डिभिजन, निर्माण तथा यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने प्रयास भइरहेको छ।
उता, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा बागलुङ–कुश्मीशेरा सडक पनि बन्द भएको छ। यसले बागलुङ, गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिमतर्फ जाने तथा मुस्ताङसम्म जाने सवारीसाधन पूर्णरूपमा रोकिएका छन्। भैरहवाबाट आएका मालवाहक ट्रक कालाखोलामा अड्किएका छन्।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकका अनुसार निरन्तर पहिरो झरिरहेकाले सडक खोल्ने काम अत्यन्त कठिन बनेको छ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    