काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले नेतृत्वप्रतिको असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीको वर्तमान गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिले आफू निराश भएको जनाएका हुन्।
"विमति राख्ने कार्यकर्तालाई हटाएर चाकडी गर्नेहरूलाई प्राथमिकता दिने प्रवृत्तिले पार्टी सुधारको सम्भावना समाप्त भएको छ," विज्ञप्तिमा उल्लेख छ। उनले पार्टी अध्यक्षको नेतृत्वमा असहिष्णुता र विधि-विधानविहीन कार्यशैली मौलाएको आरोप लगाए।
कार्कीले पूर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसँग काम गरेको अनुभव उल्लेख गर्दै वर्तमान नेतृत्वलाई स्वेच्छाचारी भनेका छन्।
उनका अनुसार विचारभन्दा पद, सेटिङ र साँठगाँठको राजनीति हावी भएको छ। "पुराना र समर्पित कार्यकर्तालाई बाइपास गरेर अयोग्य र नवप्रवेशीलाई जिम्मेवारी दिनु तथा चुनाव चिह्न बारम्बार परिवर्तन हुनुले कार्यकर्ता र संगठन निराश भएको छ," उनले भने।
पार्टीको साधारण सदस्यतासमेत परित्याग गर्दै कार्कीले अब स्वतन्त्र रूपमा राष्ट्र र जनताको सेवामा लाग्ने घोषणा गरेका छन्। साथसाथै, उनले सत्य, निष्ठा र राष्ट्र निर्माणका लक्ष्य बोकेकाहरूसँग भविष्यमा सहकार्य गर्ने इच्छा पनि व्यक्त गरेका छन्।
पूर्वमधेस प्रदेश संयोजक, पूर्व प्रवक्ता तथा अनुशासन समिति सदस्य सचिवलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेका कार्कीको पार्टी परित्यागले राप्रपाभित्रको आन्तरिक कलह थप चर्किएको देखिएको छ।