Banner Nepal
राष्ट्रियसभा बैठक आज, पर्यटन विधेयकमाथि छलफल; पाँच संसदीय समिति पनि सक्रिय

काठमाडौं, ११ साउन । सङ्घीय संसद्को राष्ट्रियसभा आइतबार अपराह्न १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफल गर्ने प्रस्तावमाथि निर्णय हुने कार्यसूचीमा उल्लेख छ।

संसद् बैठकसँगै आज पाँचवटा संसदीय समितिका बैठकहरू पनि तय भएका छन्। तीमध्ये अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक हुने भएको हो।

अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग चालु आर्थिक वर्षको बजेट सम्बन्धी सिफारिस, तिनको कार्यान्वयन, आयोगले भोगेका समस्या, र आयोगसँग सम्बन्धित उजुरीहरूमाथि छलफल हुनेछ।

कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ सम्बन्धमा विज्ञहरूसँग अन्तरक्रिया गरिनेछ।

सार्वजनिक लेखा समितिमा महालेखापरीक्षकको ६१औँ र ६२औँ वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको प्रगति, कार्यतालिका र सरकारको तयारीबारे छलफल हुनेछ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update