
संघीय संसदको प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नहरूको प्रत्यक्ष रूपमा जवाफ दिने कार्यक्रम तय भएको छ। दिउँसो १ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीले सवालहरूको जवाफ दिने कार्यसूची छ। साथै, सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनसँगको मत्स्यसम्बन्धी सहुलियतसम्बन्धी सम्झौता माथि सामान्य छलफल गर्न प्रस्ताव राख्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
त्यसैगरी, आज संसदका तीन वटा संसदीय समितिको बैठक पनि बस्दैछ। सार्वजनिक लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजना’ सम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने नेपाल सरकारका सचिवसँगको संयुक्त बैठकको मिति तयबारे पनि छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिले ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्नेछ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या, समाधान प्रयास र समितिसँगको अपेक्षामाथि छलफल गर्ने कार्यसूची तय गरेको छ।