
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले विधान संशोधन र संगठनात्मक प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ। गण्डकी प्रदेशका सदस्यहरूले आफ्ना विचार राखिसकेका छन् भने हाल मधेश प्रदेशका नेताहरू धारणा राख्दै छन्।
उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल भइरहेकाे छ।
बैठकमा अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता सकारात्मक रूपमा उठाइएको भए पनि समग्र धारणा ओलीअनुकूल देखिएको छ।
तर केही नेताहरूले महत्वपूर्ण प्रश्न उठाएका छन्।
केन्द्रीय सदस्य दिवाकर देवकोटाले ७० वर्षे उमेर हद पहिले किन तोकियो र अहिले किन हटाइयो भनेर प्रश्न गरेका छन्।
कृष्ण पौडेलले पार्टी नेतृत्वकै कारण कार्यकर्तामा निराशा छाएको बताए भने रामपृत रामले गुटबन्दीले स्थानीय कार्यमा अवरोध पुर्याएको गुनासो गरे।
प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको बैठक भोलिसम्म चल्ने बताइएको छ।