Banner Nepal
बागमतीमा नेतृत्व फेरबदलको तयारी, देउवा समूह इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीमा

काठमाडौं । बागमती प्रदेश सरकारमा ठूलो राजनीतिक हेरफेरको तयारी भइरहेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने निष्कर्षमा पुगेका छन्।

स्रोतका अनुसार, प्रतिनिधिसभा निर्वाचनमा डिना उपाध्यायविरुद्धको कथित अन्तर्घातका कारण देउवाले पहिले बानियाँको सट्टा लामालाई मुख्यमन्त्री बनाएका थिए। तर, लामाले देउवा दम्पतीको मन जित्न नसकेको र बानियाँले गल्ती स्वीकार्दै निकटता बढाएकाले देउवाको विश्वास फेरि बानियाँतर्फ गएको हो।

बागमती प्रदेशको बजेट पारित भएपछि मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्को पूर्ण पुनर्गठन गरिने तयारी कांग्रेस नेतृत्वमा गरिएको छ। बजेटमा आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेको योजना–जस्तै पहिरो नियन्त्रण र पर्यटकीय पदमार्ग जस्ता कमिसनमुखी शीर्षकमा अत्यधिक बजेट छुट्याइएको भन्दै कांग्रेस भित्रै आलोचना चुलिएको छ। ‘टंकी बजेट’ भनेर आलोचित योजनाबाट देउवा अझै असन्तुष्ट बनेका छन्।

कांग्रेस नेतृत्व परिवर्तनसँगै सत्तारुढ गठबन्धनको स्वरूप पनि फेरिने सम्भावना छ, जसअनुसार एमालेपक्षका मन्त्रीहरू पनि प्रभावित हुने चर्चा छ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update