Banner Nepal
रञ्जिताको पासोमा परेपछि मन्त्री गुप्ताको जागिर धरापमा

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले अडियो काण्डमा उल्लेख भएको पैसा आफ्नो निवासमा भेटिएको स्वीकारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान बोलाएर सोधेको मौखिक स्पष्टीकरणमा मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका हुन् । उनले त्यो पैसा आफूलाई फसाउनका लागि नियोजित रुपमा क्वार्टरमा छाडेर अडियो रेकर्ड गरिएको दाबी गरेका छन् ।

सरुवा र नियुक्ति विषयमा ७८ लाख रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि उनीविरुद्ध ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री ओली लागेपछि मन्त्रि गुप्ताले पैसा आफुसँगै रहेको बताएका हुन् । स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो । मन्त्री गुप्ताले यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका छन् ।

श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी मन्त्री गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए । पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता पहिले पनि कर्मचारीको सरुवा÷बढुवाका लागि आइरहन्थिन् ।

त्यस दिन पनि बिहान ६ बजे नै भेट्नुप¥यो भनेपछि समय दिएको गुप्ताको भनाई छ । बारम्बार सरुवाको कुरा लिएर आइरहने भएकाले मैले गर्न सक्दिनँ भनेपछि मन्त्री क्वार्टरमा पैसाको पोको छाडेर हिँडेको गुप्ताले दाबी गरेका छन् ।

गुप्ताले बिहान ६ बजे नै रञ्जिता र उनका मान्छेले मन्त्री क्वार्टरमा आएर पैसा छाडेर फसाउन खोजेको आरोप लगाएका छन् । मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ । यो विषयमा गुप्तासँगै एमालेका अर्का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम पनि जोडिएको छ । गुप्ता पर्सा क्षेत्र नम्बर– ३ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update