Banner Nepal
कांग्रेस महाधिवेशन अघि एकता र अनुशासनको बहस: सिटौलाको संयमित सन्देश

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ मंसिरभन्दा अगाडि नै गर्नुपर्नेमा जोड दिएका छन्। गण्डकी प्रदेश कांग्रेसद्वारा पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि अन्ततः सबै पक्षलाई समेटेर संगठनलाई अघि बढाउन सक्नुपर्ने बताए।

सिटौलाले सम्भावित सभापतिको नाम खुलाउँन त मानेनन्, तर आफैं पनि उम्मेदवार बन्न सक्ने संकेत दिए। “सभापति जो भए पनि प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न सक्नुपर्छ,” उनले भने, “म भए पनि त्यो गर्नेछु।”

पार्टी अनुशासन समितिको पछिल्लो कारबाहीप्रति स्पष्ट समर्थन वा विरोध नगरेका सिटौलाले यस्तो निर्णय व्यवहारिक सोचका आधारमा हुनुपर्ने बताए। उनले पार्टीमा अनुशासन आवश्यक भए पनि व्यावहारिक दृष्टिकोणले सन्तुलन कायम गर्नुपर्ने धारणा राखे।

पूर्व पदाधिकारीबीचको छलफलबारे उनले हल्का टिप्पणी गरे— “हामी बैठक नहुँदा बस्छौं, पार्टीका विषयमा छलफल गर्छौं, यसमा अरुले चिन्ता गर्नुपर्ने कारण छैन।”

कार्यक्रमका अन्य नेताहरूले पनि पार्टीमा अनुशासन र संगठित नेतृत्वको माग गर्दै आफ्ना धारणा राखे। केन्द्रीय सदस्य रामहरी खतिवडाले नेताहरूको आपसी आरोप–प्रत्यारोपले संगठन कमजोर हुँदै गएको बताए। गुरुप्रसाद बरालले व्यवहारिक निर्णय गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए।

संविधान संशोधन, संघीयता, संसदको कार्यशैलीजस्ता विषयमा पनि नेता सिटौलाले कांग्रेससँग मात्र ठोस दृष्टिकोण रहेको दाबी गरे। “कांग्रेसले जे गर्छ, देशकै हितमा गर्छ,” उनले भने।

कार्यक्रममा विभिन्न जिल्लाका नेता तथा प्रतिनिधिहरूले अनुशासन कारबाहीप्रति असन्तुष्टि जनाउँदै निर्णय प्रक्रियामा पारदर्शिता र निष्पक्षता माग गरे। केही नेताहरूले बजेट वितरणको असमानताको विषयमा सरकारलाई खबरदारी गर्नुपर्ने धारणा राखे।

अन्तमा, गण्डकी कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले उक्त अन्तरक्रिया कार्यक्रम महाधिवेशन, अनुशासन र पार्टीभित्रको समन्वयबारे विचार विमर्श गर्न आयोजित गरिएको जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update