Banner Nepal
राप्रपा फुटको संघारमा, अध्यक्ष लिङ्देनविरुद्ध उजुरी लिएर महामन्त्री धवलशमशेर निर्वाचन आयोगमा

काठमाडौं । दुई नेताको टकरावका कारण राप्रपा फुटको संघारमा पुगेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुबेदीलाई हटाएर रोशन कार्कीलाई मनोनयन गरेपछि राप्रपाभित्र नयाँ किचलो उत्पन्न भएको हो ।

संस्थापन इतर पक्षधरले यसमा कडा आपत्ति जनाउँदै निर्वाचन आयोगमै उजुरी गरेपछि पार्टी फुटको संघारमा पुगेको कतिपयको विश्लेषण छ । राप्रपामा संस्थापन इतर खेमाको नेतृत्व डा. धवलशम्शेर राणाले गर्छन् ।

उनी पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी हुन् । उनले अहिल्यैबाट महाधिवेशनलक्षित गतिविधिहरू गर्दै अध्यक्षलाई अप्ठेरोमा पार्न खोजेको संस्थापन पक्षको बुझाइ छ ।

राप्रपा अध्यक्ष लिङदेनले अनुशासन समितिमा नवराजलाई हटाएर सोही समितिको वरिष्ठ सदस्य रहेकी कार्कीलाई नियुक्त गरेका हुन् । साथसाथै, पार्टीका प्रवक्ता सगुन लावतीलाई उनले बर्खास्त गरेका छन् । पार्टीको विधान अनुसार अध्यक्षले सिधै अनुशासन समितिको नेतृत्व यसरी फेरबदल गर्न नसक्ने संस्थापन इतर पक्षको भनाइ छ ।

यसका लागि अध्यक्षले पार्टीको कार्यसम्पादन वा कार्यसमिति बैठकमा प्रस्ताव लगेर पारित गराउनुपर्ने व्यवस्था राप्रपाको संशोधित विधानमा रहेको छ । संस्थापन पक्षले भने सुबेदीले स्वेच्छाले पार्टी परित्याग गरेकाले अनुशासन समितिको अध्यक्ष पद खाली रहेको र त्यसमा वरिष्ठ सदस्यलाई जिम्मेवारी दिइनुलाई अन्यथा लिनु नपर्ने बताएको छ ।

सुबेदीले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक बनेपछि आफू अब राप्रपाको साधारण सदस्य नरहेको घोषणा गरेका थिए ।

सोही घोषणालाई आधार बनाएर राप्रपाले उनी पार्टीमा नरहेको निष्कर्ष निकालेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफैँ पार्टी परित्याग गरिसकेपछि फेरि अहिले निर्वाचन आयोग गुहार्नुको औचित्य नहुने बताए । दुई नेताबीचको इगोले राप्रपाले अघि सारेको आन्दोलनमा पनि सुस्ताएको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update