Banner Nepal
युरोप भ्रमणबाट फर्किइन् मन्त्री राणा, खाद्य र जलवायु मुद्दामा जोड

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किइन्। उनले इटालीको रोममा सम्पन्न खाद्य तथा कृषि संगठन (एफएओ)को ४४औं अधिवेशन र उच्चस्तरीय बैठकहरूमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्।

सम्बोधनमा मन्त्री राणाले नेपालले खाद्य अधिकारलाई मौलिक हकका रूपमा संविधानमा सुनिश्चित गरेको र उपभोक्ता संरक्षणसहित गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको जानकारी दिइन्। जलवायु परिवर्तनका असरबाट प्रभावित नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा अनुदान सुनिश्चित गर्नुपर्ने माग उनले उठाइन्।

जर्मनी भ्रमणको क्रममा मन्त्री राणाले विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग भेट गर्दै नेपाल-जर्मनी व्यापार प्रवर्धन, मल कारखाना स्थापनालगायत क्षेत्रमा लगानीको आग्रह गरिन्। उनले नेपाल–युरोप सिधा हवाई उडान र इयूले नेपाली एयरलाइन्समाथि लगाएको प्रतिबन्ध हटाउन सहयोगको पनि अनुरोध गरिन्।

राणाले नेपालको राष्ट्रसंघीय उम्मेदवारीहरूमा समर्थनका लागि आग्रह गर्दै, लगानी बोर्डद्वारा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएकी थिइन्। त्रिभुवन विमानस्थलमा उनलाई परराष्ट्र सचिवसहित उच्च अधिकारीहरूले स्वागत गरे।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update