Banner Nepal
पाकिस्तानमा भारी मनसुनी वर्षाले ११ जनाको मृत्यु, लाखौं प्रभावित
काठमाडौं । पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही क्षेत्रहरूमा 
भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको ज्यान लिएको र अन्य धेरैलाई घाइते बनाएको छ। 

डनका अनुसार, तीव्र वर्षाले बाढी ल्याउँदा दैनिक जीवनमा ठूलो प्रभाव परेको छ।

लाहोरमा मुषलधारे वर्षाले प्रमुख सडक र तल्लो क्षेत्रमा पानी भरिदिएको र शहरका विभिन्न स्थानमा औसत ५८.८ मिलिमिटर पानी परेकाे बताइएको छ। त्यस्तै, पञ्जाब प्रान्तका विभिन्न स्थानमा, जस्तै खानवाल, रावलपिन्डी, साहीवाल, र मुर्रीमा पनि भारी वर्षा रेकर्ड गरिएको छ।

पाकिस्तानको आपत्कालीन सेवा उद्धार ११२२ अनुसार पञ्जाब प्रान्तभरि वर्षासँग सम्बन्धित घटनामा नौ जनाको मृत्यु भएको छ।

बलुचिस्तानमा पनि भारी वर्षा र तीव्र बतासले क्षति पुर्याएको छ, जसमा खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको खबर प्राप्त भएको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update