
काठमाडौं। पोखरा विश्वविद्यालयको २५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँ बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले शिक्षक–कर्मचारीसम्बन्धी नियमावली, आर्थिक नियमावली, सेवा आयोग तथा पुनरावेदन समितिसम्बन्धी नियमावलीमा संशोधन प्रस्तावहरू पनि पारित गरेको छ।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुखी र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै उत्कृष्ट उच्च शिक्षा दिन सकिने विश्वास दिलाउने गरी अघि बढ्न निर्देशन दिए।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले २१औँ शताब्दीको आवश्यकता अनुरूपको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए।
उपकुलपति प्रा.डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, विश्वविद्यालयले सीमित स्रोत साधनबाटै अन्तर्राष्ट्रिय बजारको मागअनुसारको गुणस्तरीय शिक्षा दिन प्रयासरत रहने बताए।
हाल विश्वविद्यालयमा चार सङ्कायअन्तर्गत चार आङ्गिक, तीन संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त क्याम्पसमार्फत ६८ शैक्षिक कार्यक्रममा ३४ हजार ६७९ विद्यार्थी अध्ययनरत छन्।